एनपीएलमा पोखरा एभेन्जर्सको शानदार जित, कर्णाली याक्स ३४ रनले पराजित
१६ मंसिर, काठमाडौं । एडम रोसिङटनको उत्कृष्ट शतकको मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै आफ्नो प्लेअफ सम्भावना जीवित राखेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा २ विकेट गुमाएर २०१ रनको विशाल स्कोर बनायो, जसलाई पछ्याउने क्रममा कर्णाली १९ ओभरमै १६७ रनमा अलआउट भयो।
५८ बलमा ११ चौका र ७ छक्कासहित अविजित १०८ रन बनाएका रोसिङटनले लगातार दोस्रो खेलमा शतकीय प्रदर्शन गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। कप्तान कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ३४ रन र जेसन रोएसँग दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै रोसिङटनले पावरप्लेपछि इनिङ्सलाई उचाइमा पुर्याए। डेब्यु खेल खेलेका रोयले ३४ बलमा ४६ रन बनाउँदै उत्कृष्ट साथ दिए। अन्त्यतिर धनन्जय लक्षनले ११ बलमा २३ अविजित रन जोडे।
२०२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कर्णालीको सुरुआत राम्रो रह्यो। ओपनर मार्क वाटले २२ बलमा अर्धशतक प्रहार गर्दै ५९ रन बनाए। तर अर्कोतर्फ साझेदारी टिक्न नसक्दा कर्णालीले निरन्तर विकेट गुमायो। नजिबुल्लाह जद्रानले २४, पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए पनि अन्य खेलाडीले योगदान दिन सकेनन्।
पोखराका धनन्जय लक्षन र ऋषी धवनले ३–३ विकेट लिँदै कर्णालीको लाइनअप भत्काए। सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना र कप्तान कुशल भुर्तेलले १–१ विकेट जोडे।
यो जितसँगै पाँच खेलमा दोस्रो जित निकाल्दै पोखराले ४ अंकसहित प्लेअफ सम्भावना कायम राखेको छ। यसअघि पोखराले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। उता ६ खेलमा पाँचौं हार बेहोरेको कर्णाली याक्स भने यो सिजन प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ। कर्णाली अब आइतबार हुने अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग भिड्नेछ।