सुदूरपश्चिम रोएल्सको लगातार तेस्रो जित, ऐरीको ४ विकेटले कर्णाली याक्स ४५ रनले पराजित
कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ प्रदर्शनमा सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको डे–नाइट वेस्टर्न डर्बीमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हरायो।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमै ९४ रनमा अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए। २९ रनमै ४ विकेट गुमाएपछि कप्तान सोमपाल कामी र पवनले ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए, तर लगातार विकेट पतन भएसँगै कर्णाली दबाबमा पर्यो।
सुदूरपश्चिमका कप्तान ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। हर्मीत सिंहले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित १९ रन दिएर २ विकेट झारे। अविनाश बोहरा र स्कट कुगेलेइनेनले पनि प्रभावशाली प्रदर्शन गर्दै क्रमशः २ तथा १ विकेट लिए। हेमन्त धामीले १ विकेट हात पारे।
यो जितसँगै सुदूरपश्चिमले लिगमा उत्कृष्ट लय कायम राखेको छ।