स्विट्जरल्याण्डमा हुने अमेरिका–इरान वार्तामा लेबनान द्वन्द्व प्रमुख एजेन्डा
काठमाडौं — इरानले लेबनानमा जारी इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने आगामी वार्ताको मुख्य विषय बनाइने जनाएको छ।
इरानको सरकारी समाचार संस्था ‘इर्ना’का अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले सार्वजनिक गरेको भिडियो सन्देशमा इजरायलले लेबनानसम्बन्धी प्रतिबद्धता उल्लङ्घन गरिरहेको आरोप लगाउँदै सो विषय वार्ताको प्रमुख एजेन्डा हुने बताएका छन्।
उनका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने विषयमा पनि छलफल हुनेछ।
इरान र अमेरिकाबीच हुने उक्त वार्तामा क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयहरू समेत उठाइने जनाइएको छ।