कर्णालीलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाज प्लेअफ नजिक
१४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको छ।
यस जितपछि काठमान्डुले ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ। ६ खेल खेल्दा ४ जित र २ हार व्यहोरेको काठमान्डु रनरेटका आधारमा विराटनगर किंग्सभन्दा अगाडि रहँदा पाँच खेलमै १० अंक जोडिसकेको सुदूरपश्चिम भने पहिले नै प्लेअफ प्रवेश गरिसकेको छ। पाँच खेलमा चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ। १५० रनको लक्ष्य पछ्याउँदै काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो, जसमा जेरार्ड एरासमसले ३३ बलमा २ चौका र ३ छक्का प्रहारसहित अविजित ४३ रन बनाए भने जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्का मद्दतमा ४१ रन जोडे। उनीहरूले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। कर्णालीका नन्दन यादवले ३ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो, जसमा सातौँ नम्बरमा आएका गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे। पवन सर्राफले ३५ तथा मार्क वाटले ३० रनको योगदान दिए। गुल्सन र दीपक डुम्रेबीच सातौँ विकेटका लागि ५५ रनको साझेदारी रह्यो। काठमान्डुको बलिङतर्फ रासिद खानले २ विकेट लिए भने कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट हात पारे।