त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा आज बस्दै छ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बिहान ११ बजे सभा बस्ने तयारी भएको छ। कार्की प्रधानमन्त्री बनेपछि पहिलो पटक त्रिवि सभाको अध्यक्षता गर्दै छिन्।
आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस गरिने उपकुलपति दीपक अर्यालले बताएका छन्। उनका अनुसार यसअघि रोकिएको नीति तथा कार्यक्रम आज पुनः सभामा प्रस्तुत हुँदै छ।
गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा त्रिविको नीति तथा कार्यक्रम रोकिन पुगेको थियो। ओलीले त्यतिबेला नीति तथा कार्यक्रम प्रस्तुत नगरी बजेट मात्रै पेस गर्न निर्देशन दिएका थिए। उक्त निर्देशनअनुसार रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पेस गरेका थिए।
अब भने त्रिविको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नियमित प्रक्रिया अघि बढाइने जनाइएको छ।