भोटेकोशी बाढी : उद्धारको पछिल्लो अवस्थाबारे मन्त्रीद्वयलाई सेनाको ब्रिफिङ
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी लिएका छन्।
ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीहरूले बाढी प्रभावित जलविद्युत् आयोजना तथा सुरुङमार्गमा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे मन्त्रीद्वयलाई ब्रिफिङ गरेका हुन्।
ब्रिफिङका क्रममा बाढीबाट प्रभावित प्रत्येक जलविद्युत् आयोजना र सुरुङमार्गमा भइरहेको खोज तथा उद्धारको अवस्थाबारे जानकारी दिइएको थियो। प्रभावित क्षेत्रमा उद्धार कार्यका क्रममा देखिएका चुनौती तथा हालसम्म भएको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ।
मन्त्रीद्वय श्रेष्ठ र लम्सालले उद्धार अभियानलाई थप प्रभावकारी बनाउने विषयमा नेपाली सेनाका अधिकारीसँग छलफल गर्दै आगामी रणनीतिबारे जानकारी लिएका छन्।
उक्त ब्रिफिङमा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको पनि सहभागिता रहेको थियो।
भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका साथै विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालित छन्।