दीपेन्द्र ऐरीको अर्धशतकीय पारीमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दियो
दुबई — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको अर्धशतकीय पारी खेले। उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। करण केसीले ३१ बलमा ४९ रनको महत्वपूर्ण योगदान दिए भने कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।
अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए। जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए।