नास्टद्वारा शिक्षकलाई एआई प्रयोगसम्बन्धी तालिम सुरु, देशभर विस्तार गर्ने तयारी
१४ मंसिर, काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य स्वरुप तालिम प्रदान गर्न सुरु गरेको छ।
पठनपाठनमा एआई जस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने उद्देश्य स्वरूप नास्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गत रहेको सूचना पहुच केन्द्रले तालिम दिन थालेको हो।
हालसम्म नास्टले काठमाडौँको चन्द्रागिरी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापनरत २३ जना विज्ञान शिक्षकहरू र टोखा नगरपालिकाका १९ जना विज्ञान शिक्षकहरूलाई तालिम दिइसकेको सूचना प्रणाली केन्द्रका कोअर्डिनेटर प्रदीप ढोडारीले बताए।
उनका अनुसार यो तालिम पूर्ण दिनको हुन्छ। अहिलेसम्म परीक्षणका रूपमा यो तालिम सञ्चालन गरिएको छ । यसमा शिक्षकहरूलाई च्याटजीपीटी, जेमिनाई, डिपसिक जस्ता एआई टुलहरूको प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने, परियोजना प्रतिवेदनहरू बनाउने, नमुना प्रश्नपत्र तयार पार्ने जस्ता सीपहरू सिकाइने उनको भनाइ छ। यसले शिक्षकहरूलाई पछिल्ला प्रविधिहरूसँग नजिक बनाउने समेत उनले बताए ।
‘आधुनिक विद्यालय शिक्षामा एआईका विभिन्न टुल्सहरूलाई कसरी प्रयोग गर्ने, आजको सूचना प्रविधिको विकास सँगै हाम्रो कक्षागत सिकाइलाई कसरी अझ प्रभावकारी बनाउने र साथै यो सिकाइलाई कसरी जीवनउपयोगी बनाउने भन्ने सन्दर्भमा तालिम केन्द्रित छ,’ उनले भने।
अब यो तालिम क्रमश: अन्य नगरपालिकाहरूमा पनि विस्ता गर्ने उनको भनाइ छ । त्यस्तै आगामि दिनहरूमा भने तालिमको निश्चित ढाँचा बनाएर सकेसम्म देशभर विस्तार गर्ने समेत उनले सुनाए।
हाललाई यस तालिममा श्रोत व्यक्तिका रूपमा माध्यमिक तहका कम्प्युटर विज्ञान पुस्तकका लेखक सुनिल घर्ती, राहुल महथा तथा अनुप पौड्याल रहेका छन् ।