दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित
कोलम्बो – श्रीलंकाको कोलम्बोमा सम्पन्न ‘पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५’ को उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
टस जितेर फिल्डिङ रोजेको भारतका विरुद्ध नेपालले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले नटआउट ३५ रन बनाउँदै सर्वाधिक योगदान दिइन् भने बिमला राईले २६ रन जोडिन्। अन्य नेपाली खेलाडी दोहोरो अंकमा पुग्न संघर्षरत देखिए।
जवाफी रूपमा भारतले १२.१ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। भारतका लागि करुणा के ले २७ बलमा ४२ रन र फूला सरीनले २७ बलमै ४४ रन प्रहार गर्दै जित सुनिश्चित गरिन्।
नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएथ्यो भने भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट पहिलोपटक भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गरेका हुन्।