आईसीसी लिग–२: अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दियो
काठमाडौँ – दुबईमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको चुनौतीपूर्ण योगफल तयार गर्यो। अमेरिकाका लागि लिग स्मिथ पटेलले उत्कृष्ट ७५ रनको अर्धशतक प्रहार गरे। उनले १०० बलमा ५ चौका प्रहार गरे। त्यस्तै मिलन्थ कुमारले ५० बलमा ६ चौका र २ छक्कासहित ७० रनको आक्रामक पारी खेले।
अन्य खेलाडीमध्ये साइतेजा मुकामल्लाले ४२ रन र शुभम रन्जानेले १९ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे।
आजको खेल जित्दै नेपालले लिग–२ मा थप दुई अंक जोड्ने लक्ष्य राखेको छ। हाल नेपाल १६ खेलबाट १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।