टी– २० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी– १ मा गएराति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । कुवेतका लागि ओपनर क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा ३ छक्का र ३ चौकासहित ६६ रन बनाए । यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०/२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।
कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ । त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएई विजयी भएका छन् ।