जनकपुरधाममा छठ पर्वको तयारी सुरु
दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ ।
तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा.भोगेन्द्र झाले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, महरासागर, रत्नसागर, गोरधोइ, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमतीघाटलगायत पोखरी, नदी र तालको सरसफाइसँगै सजाउने काममा स्थानीयको सक्रियता बढेको उनले जानकारी दिए ।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक सामानको मूल्य वृद्धि भएको स्थानीय रुकमिनी साहले बताइन् ।
यस वर्ष कात्तिक १० गते (सोमबार) षष्ठी तिथिमा विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिने दिन भए पनि यसको मुख्य विधि तीन वटा रहेको पण्डित कुशेश्वर उपाध्यायले जानकारी दिए ।