असोज ३ गते लोसपा नेपालले कालो दिवस मनाउने
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको सो पार्टीको पदाधिकारी तथा अन्य भातृसंगठनका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको बताए । बैठकपछि अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै आगामी ३ गते कालो दिनका अतिरिक्त शोक दिवसको रूपमा कालो पट्टी लगाई मनाउने निर्णय भएको बताएका छन् ।
सरकारले असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । सरकारले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो । त्यो संविधानले मधेसको अधिकार र पहिचान पुरा नगरेको भन्दै लोसपा लगायत अन्य मधेसवादी दलहरूले आन्दोलन गर्दै आइरहेका छन् । ती दलले संविधान संशोधनको माग गर्दै लामो समय आन्दोलन गरेका थिए । तर संविधान संशोधन नभएपछि लोसपा नेपालले भने सुरु देखिनै असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएको छ ।
बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।