काठमाडौं महानगर उपप्रमुखबाट आगलागीस्थलको अवलोकन, ग्यास कम्पनीको अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एकजनाको मृत्युसमेत भएको छ ।
क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।
ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौं ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको बताइन् । आगामी दिनमा ग्यास कम्पनी र डिलरमा पनि अनुगमन गर्ने जानकारी उनले दिइन् ।
आगलागीबाट श्रेष्ठको चारतले घर पूरै जलेको छ। त्यही घरमा एकजना महिलाको मृत्यु भएको छ । दयारामसँगैको रुकेश श्रेष्ठको पाँचतले, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति पुगेको वडाध्यक्ष विनोदकुमार राजभण्डारीले बताए ।