विराट गोल्डकपको उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने छन् ।\ विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र दैनिक उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।