थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती यसअघि एसीसी एसिया कप २०२४ को टोलीमा पनि परेकी थिइन् तर कुनै खेल भने खेलेकी थिइनन् ।
उनी घरेलु क्रिकेटमा एपीएफ क्लबबाट खेल्दै आएकी छन् । भर्खरै सम्पन्न महिला पीएम कपमा उनले एपीएफका लागि तेस्रो सर्वाधिक रन बनाएकी थिइन् । उनले ६ खेलमा ८५ रन बनाएकी थिइन् ।
नेपालले आज दुई परिवर्तन गरेको छ । रोमा थापा र ममता चौधरी बाहिर रहँदा राजमती र अलिशा यादव टिममा आएका छन् । यसअघि नै उपाधि होडबाट बाहिरिसकेको नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।