शीतलहरले दाउन्नेमा फेरि समस्या : सात किलोमिटरसम्म सवारीको लाम, यात्रु हैरान
बुटवल-नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा आज (बिहीबार) पनि शीतलहरका कारण आवागमनमा समस्या भएको छ । बाक्लो शीतलहरले सडक चिप्लो भएपछि सवारी साधन गुड्न समस्या भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख डीएसी दीपेन्द्र बानियाँले इमरजेन्सी काम भएका व्यक्तिलाई बुटवल-नारायणगढ सडक खण्डको बाटो यात्रा नगर्न आग्रह गरे । ‘सडक सहज रूपमा चल्न घाम लाग्नुपर्छ कि ठूलो पानी परेर हिलो बगाउनुपर्छ,' उनले भने, 'शीतलहरले गाडी गुड्न समस्या छ । इमरजेन्सी कामको लागि यो सडकको विकल्प खोजेर हिँड्नुहोस,
सडक खण्डमा रातभरको जामले यात्रुहरू हैरान भएका छन् । कतिपय यात्रुहरू राति हिँडेरै गन्तव्यतर्फ गएका छन् । बुटवलका खगराज शर्माले दुम्कीबास बर्दघाट आउन झण्डै ११ घण्टा लागेको बताए । बर्दघाट दुम्कीबास खण्ड जम्मा १५ किलोमिटर हो । ठाउँ–ठाउँमा चिप्लिएर सवारी साधन आपसमा ठोक्किएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो खण्ड निर्माणाधीन छ । सडकमा दुवैतर्फ पाँच/सात किलोमिटर लामो सवारीको लाइन छ ।
साभारः लोकान्तर खबर