कर्णाली याक्सका अलराउन्डर गुलसनले लिए एउटै खेलमा चार क्याच
कर्णाली याक्सका अनुभवी अलराउन्डर गुलसन झा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार खेलिएको चितवन राइनोजविरुद्धको ‘एलिमिनेटर’ खेलमा उत्कृष्ट फिल्डिङ गर्दै उनी यो सूचिको दोस्रो स्थानमा उक्लिएका हुन् ।
चितवन राइनोजविरुद्धको खेलमा गुलसनले चारवटा क्याच लिए । उनले चितवन राइनोजका ओपनर ब्याट्सम्यान हसन इसाखिल र विपिन रावलको क्याच लिएका थिए ।
त्यसपछि उनले रवि बोपारा र सन्तोष कार्कीको क्याच पनि लिएका थिए । जारी एनपीएलमा हालसम्म गुलसनले ६ वटा क्याच लिइसकेका छन् ।
एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडी भने जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साह हुन् । उनले प्रारम्भिक चरणमा खेलिएको काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पाँचवटा क्याच लिएका थिए ।
अनिल जारी एनपीएलमा सबैभन्दा बढी क्याच लिने खेलाडी पनि हुन् । उनले हालसम्म सात खेल खेल्दै १२ वटा क्याच लिइसकेका छन् ।
सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका नरेश बुढा ऐर दोस्रो स्थानमा छन् । उनले हालसम्म नौवटा क्याच लिएका छन् । उनले एउटै खेलमा तीनवटा क्याच लिएका छन् ।