रविलाई नैतिक धरातलमा खडा भएको पुष्टि गर्न मुकुलको चुनौती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।
पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् ।
ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते पुनः ढकाललाई स्पष्टीकरण सोधेको थियो ।
त्यसको जवाफी पत्रमा ढकालले लेखेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’