एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्दै
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार नयाँ सरकार गठन भएमा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्नु हुने भएको छ ।
सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बन्नुभएको थियो । संविधान निर्माणपछि नेकपा माओवादी केन्द्र र राप्रपा नेपालको समर्थनमा उहाँले त्यतिबेला १० महिना सरकार सञ्चालन गर्नुभएको थियो । ३० असार २०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसदलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो ।
२०७४ सालमा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । करिब दुई तिहाइन जिकको बहुमत ल्याएर ओली दोस्रो पटक ३ फागुन २०७४ सालमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यतिबेला पनि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। २०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।
तर आलोपालोको सहमति कार्यान्वयन भएन। बरु नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नुभएको थियो। तर सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो। त्यस लगत्तै, अदालतले २३ फागुनमा एमाले र माओवादी पूर्ववत ब्युँतिने फैसला गर्यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली नेतृत्वको सरकारले २७ वैशाख २०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रो पटक ओलीले ३ वर्ष ३ महिना सरकार चलाउनुभएको हो।
ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । त्यसका लागि ३० वैशाख २०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्याउन नसकेको भन्दै राष्ट्रपति भण्डारीले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो ।
तेस्रो पटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो। त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्यो । २८ असार २०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गर्यो । एमाले अध्यक्ष ओली त्यतिखेर २ महिना प्रधानमन्त्री हुनुभएको थियो ।