पहिरोका कारण अरनिको राजमार्ग अवरूद्ध
काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबाररातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट लगातार पहिरो खसिरहेकोले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो । पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १ सय ५० मिटर सडक अवरुद्ध भएको हो । सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् ।
साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले बताएको हो । पहिरो खस्न केही कम भएपछि मेसिनद्वारा पहिरो पन्छाउन थालिने प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।