प्रतिनिधि सभाको बैठकमा आज सांसदले उठाएका प्रश्नको गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बस्ने भएको हो । सोमबारको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोकसेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेश गर्ने कार्यक्रम पनि रहेको हो । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्नुहुने भएको छ ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको हो । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।