गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग राख्दै गरेको रिटको पेशी मंगलबार हुने भएको छ ।
यहि असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा मंगलबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिंदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिंदै अनुसन्धान प्रभावित बनाएको दावी रिटमा गरिएको छ ।
भट्टराईले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका हुन् । गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र गृहमन्त्री लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ ।