ओलीलाई सहजै सत्ता बुझाउनेवाला छैनन् प्रचण्ड
काठमाडौं । राजीनामा दिन भनेर बिहीबार बालुवाटार पुगेका रास्वपा सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलासम्म पर्खिन आग्रह गरे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अनि श्रममन्त्री डिपी अर्यालले बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्दै सक्दो चाँडो विश्वासको मत लिन आग्रह गरे । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले १९ असारमा मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्रीसामू विश्वासको मत लिन १८ साउनसम्मको समय छ ।
संसदको दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरिसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले संसदमा बहुमत जुटाउने सम्भावना छैन । तैपनि रास्वपा प्रधानमन्त्री प्रचण्डलाई पर्खने नीतिमा जानु अर्थपूर्ण छ ।