संघीय संसदका सुशासनसहित ३ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ३ वटा संसदीय समितिको बैठक बिहीबार बस्ने भएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुका सम्बन्धमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुने भएको छ । बैठक बिहीबार दिउँसो सवाँ १२ बजे सिंहदरबारमा बस्ने भएको हो ।
त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।