पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउछन् ।
“हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ”, उनले भने, “कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन, कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा छन् ।”मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो ।
यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ । सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ ।