राष्ट्रिय धान दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने पर्व शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ ।
असार १५ गते दही चिउरा खने दिनको रुपमा किसानको माझमा लोकप्रिय प्रसिद्ध पर्व हो । २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्ष भरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यो वर्ष असार मध्यसम्म पनि पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । सरकारी तथ्यांक अनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको हो ।
नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्य बालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ। जसका कारण पछिल्लो समय दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रुप लिएको हो ।