८ औं प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि शुरू
काठमाडौं । नेपाल भलिबल संघ ९एनभीए०को आयोजनामा शनिबारदेखि ८ औं प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।
संघको तालिका अनुसार पहिलो दिन शनिबार पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुने भएको हो । सोेही खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने भएको छ । शनिबार बिहान ९ बजे पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बूढानिलकण्ठ भलिबलबीच प्रतिस्पर्धा हुने भएको हो ।
त्यस्तै, शनिबार दिउँसो ३ बजे महिलातर्फको पहिलो खेल हुने भएको छ । जसमा एपीएफ र चन्द्रागिरी नगरपालिकाको टीलीबीच प्रतिस्पर्धा हुने भएको हो। लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब गरी ८ टोली सहभागिता रहेको छ।
त्यस्तै, महिलातर्फ पुलिस, एपिएफ, न्यू डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले गरी ६ वटा टोलीको सहभागिता रहेको हो । लिगमा पुरुष तथा महिला दुवै तर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।
त्यस्तै, उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।