माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान १० बजेसम्म सार्वजनिक गर्ने भएको छ ।
बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बिहीबार प्रकाशन गर्न लागेको हो । एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले बिहीबार बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभएको हो।
उहाँका अनुसार नतिजा प्रकाशनमा कमी–कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु र अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने लगायतका काम सम्पन्न भइसकेको छ। गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी भएका थिए।
यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्ने भएका छन्। नयाँ पाठ्यक्रम अनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्था अनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको हो ।
सोही व्यवस्था अनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनु पर्ने भएको छ। प्रत्येक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्ने भएको हो। उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्ने भएका छन् ।
उनीहरूलाई ग्रेडसिट समेत उपलब्ध नगराउने परीक्षा बोर्डले जनाएको हो ।