राज्यले आफ्ना माग पूरा नगर्ने भएपछि डा.गोविन्द केसीले ६ दिनमै अनसन तोडे
काठमाडौं । डा.गोविन्द केसीले २२ औं पटकको आमरण अनसन बिहीबार तोड्नुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै २२ औं अनसन तोडेको जानकारी गराउनुभएको हो ।पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरु भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोड्नुभएको हो ।
डा.केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैंले अप्रेसन गरेका घाइते भएको बताउनुभयो । द्वन्द्व पीडितहरुलाई आफैंले उपचार गरेकाले उहाँहरुको हातबाट जुस खाएको उहाँले बताउनुभएको छ । राज्यले नागरिकहरुप्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको उहाँको भनाइ थियो ।
डा. केसीले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघिदेखि माग राख्दै आएको तर अहिलेसम्म राज्यले सम्बोधन नगरेको बताउनुभयो । उहाँले बिहीबार अनसनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको बताउनुभएको छ ।
वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उहाँले उल्लेख गर्नुभयो । हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल, त्यस्तो पृष्ठभूमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाई गर्छन्, शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मूर्खता भएको उहाँको भनाइ छ । अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
डा. केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीं पुष्पकमल दाहालले तत्काल राजीनामा दिनुपर्ने माग थियो । सबै नेपालीलाई निःशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप ४ बुँदे माग राखेर उहाँ अनसनमा बस्नुभएको हो ।
सोही माग राखेर अनसन बसेका डा. केसीले कतैबाट पनि वास्ता नभएपछि बिहीबार अनसन तोड्नुभएको छ ।