बागमतीसहित ५ प्रदेश आज दिउँसो र राति मेघगर्जन/चट्यांगसहित वर्षा-हावाहुरी हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु-स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । बागमती र कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मंगलबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको हो ।
मंगलबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो । बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।