प्रतिनिधि सभाको बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बिहान बस्ने भएको छ ।
सोही बैठक आइतबार बिहान ११ बजे नयाँ बानेश्वरसिथत संघीय संसद भवनमा बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने भएको हो । त्यसपछि प्रधानमन्त्री दाहालले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको हो ।
यसअघि, बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने भएको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने भएका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुने भएका छन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।