संघीय संसदको गरिमा र ओझ खस्कंदै गएको छ: पूर्वसभामुख सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको गरिमा र ओझ खस्कंदै गएको बताउनुभएको छ ।
काठमाडौंमा शनिबार भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वसभामुख सापकोटाले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहिन, मर्यादाहिन भएको बताउनुभएको छ ।
संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा र सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको उहाँले बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको पनि उहाँले बताउनुभयो । अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि उहाँको भनाइ छ ।
पूर्वसभामुख सापकोटाले देश अहिले छट्पटि र उकुसमुकुस वातावरणमा रहेको बताउनुभयो । देशमा विचारहीनको स्थिति सिर्जना भएको उहाँको भनाइ छ ।