सहकारी प्रकरण: कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा आज पनि निष्कर्ष विहीन
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
बैठक बिना निष्कर्ष टुंगिएएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सिधै शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका छन् ।
कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री दाहालले बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्र कार्की सहभागी भएका हुन् ।
त्यस्तै, सत्ता पक्षका नेकपा एमालेबाट उपप्रधान एवं भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ र सांसद विष्णु पौडेल सहभागी भएका छन् । अर्थमन्त्री वर्षमान पुन पनि बालुवाटार पुग्नुभएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शेरबहादुर देउवा भने बिरामी परेका कारण बैठकमा उपस्थित हुनुभएको छैनन् । ‘प्रधानमन्त्री दाहालले छलफलमा बोलाउनु भएर आफूहरु आएको उहाँले जानकारी गराउनुभयो
कार्यदलको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो,-'अहिलेलाई कार्यदलको बैठक सकिएको छ । छलफल जारी छ, हामी प्रधानमन्त्री दाहालसँग छलफलका लागि बालुवाटार हिनेका छौं । बैठकमा भएका कुराहरू प्रधानमन्त्री दाहालसँग प्रस्तुत गरिनेछ ।'
आज बसेको कार्यदल बैठकमा कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद ज्ञानेन्द्र बहादुर कार्की, एमाले प्रमुख सचेतक बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा पुग्नुभएको थियो ।