कांग्रेस सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर फस्यो: एमाले सचिव भट्टराई
काठमाडौं । सत्तारुढ प्रमुख घटक दल नेकपा एमालेका सचिव एवं सांसद योगेश कुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर नेपाली कांग्रेस फसेको बताउनुभएको छ ।
मंगलबार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । संसदमा छानविन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि कांग्रेसले सोही विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानविन गर्ने माग गरेको भए उपयुक्त हुने उहाँले बताउनुभएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको भन्दै कांग्रेसलाई प्रश्न समेत सचिव भट्टराईले गर्नुभयो । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनैपनि निकाएले छानविन नगरी गृहमन्त्रीमाथि दोषी करार कांग्रेसले गर्न नमिल्ने उहाँको भनाइ थियो ।
छानविनको क्रममा पुष्टि भए उहाँ पनि कारबाहीको भागीदार हुने पनि उहाँले बताउनुभयो । संसदमा कांग्रेसले असंसदीय आचरण प्रदर्शन गरिरहेको आरोप समेत सचिव भट्टराईले लगाउनुभएको छ ।