सहकारी प्रकरण: टीओआर तयार गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै, के सहमति होला त ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक शनिबार दिउँसो पनि बस्ने भएको छ ।
सोही बैठक शनिबार दिउँसो ३ बजे सिंहदरबारस्थित कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको हो ।
समिति गठनको क्षेत्राधिकारको बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन।
यसअघि शुक्रबार दिउँसो बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले शनिबारको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेश गर्ने सहमति भएको हो । शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमालेका प्रमुख सचेतक बर्तौलाले ब्रिफिङ गर्नुभएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उहाँको नामै किटेर संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ । सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा रहेको हो ।
कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।