दोहोरो नागरिकता प्रकरण: कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी
काठमाडौं । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दामा बहस सकिएको छ ।
धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा शुक्रबार उपस्थित गराएपछि शुरुमा सिरोहियाकोतर्फबाट ७ जना वरिष्ठ वकिलले बहस गरेका हुन्। सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको हो ।
सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झा,वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरेका छन् ।
धनुषा अदालतको ५ नम्बर इजलासमा न्यायाधीश रोमाकान्त ज्ञवाली समक्ष सिरोहियाका वकिलहरूले बहस सकेपछि सरकारी वकिलकोतर्फबाट बहस भएर सुनुवाई सकिएको हो । सुनुवाई सकिएसँगै अब न्यायाधीश ज्ञवालीले सोही मुद्दामा सिरोहियालाई म्याद थप गरेर हिरासतमै राख्ने वा बाहिर पठाएर प्रक्रिया अघि बढाउने आदेश दिनुहुने छ ।
मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबारसम्म दिएको ३ दिनको म्याद सकिएपछि थप्न पेश गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले अध्यक्ष सिरोहियाको मुद्दामा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद थप गर्न माग गर्नुभएको हो ।