आईपीएलमा कोलकता फाइनलमा प्रवेश, आज रोयल र राजस्थानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकता नाइट राइडर्स प्रवेश गरेको छ ।
मंगलबार राति सम्पन्न भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकता फाइनलमा प्रवेश गरेको हो । हैदरावादले दिएको १ सय ६० रनको लक्ष्य कोलकताले १३.४ ओभरमा २ विकेटको क्षतिमा भेटाएको छ ।
उसका लागि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले अर्धशतक प्रहार गरेका हुन् । २४ बलको सामना गरेका श्रेयसले ४ छक्का र ५ चौकाको मदतमा ५८ रन बनाएका छन् ।
त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाएका हुन् । त्यस्तै, रहमानउल्लाह गुरबाज २३ तथा सुनिल नारायणले २१ रनको योगदान गरेका हुन् । हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले एक-एक विकेट लिएका छन्।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ५९ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन् ।
३५ बल खेलेका त्रिपाठीले ७ चौका र एक छक्कासहित ५५ रन बनाएका छन् । त्यस्तै, हेनरिक क्लासेनले ३२, कमिन्सले ३०, अब्दुल समदले १६ रनको योगदान गरेका थिए ।
हैदरवादको ब्याटिङ्लाई रोक्ने क्रममा कोलकताका मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका छन् । त्यस्तै, बरुण चक्रवर्तीले २ र वैभव अरोरा, सुनिल नारायण, हर्षित राना र आन्द्रे रसेल एकरएक विकेट लिएका हुन् ।
योसँगै कोलकता फाइनलमा प्रवेश गरेको छ । पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने भएको हो । बुधबार राति एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोही खेल बुधबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।