प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभएको हो । स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना, व्यवस्थापनका लागि थप पूर्वाधारहरूको विकास गरी सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिनुपर्ने उहाँको जोड छ ।
नेपालको अधिकांश भूभागका ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको हो । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो रहेको बताउदै उहाँले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको समेत बताउनुभएको छ । प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उहाँको भनाइ थियो ।
देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन, नियमनका लागि चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।