नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
दृष्टि सञ्चार संवाददाता । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले स्रो खेलमा नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।