नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य
तीन एकदिवसीय म्याचको नेपाल–क्यानडा बाइल्याट्रल सिरिजअन्तर्गतको पहिलो म्याचमा नेपालले क्यानडालाई दुई सय २५ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभरमा दुई सय २४ रनमा अलआउट भएपछि क्यानडाले दुई सय २५ रनको लक्ष्य पाएको हो ।
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । क्यानडाका उदय भगवानले सर्वाधिक तीन विकेट लिएका थिए ।
भुर्तेलले अर्धशतक बनाउनेबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपालले मध्यम लक्ष्य मात्र बनाउन सकेको हो ।
भुर्तेलले ५८ बलमा ९ चौका र एक छक्कासँगै ६२ रन बनाए । नेपालले १८.३ ओभरमा साद विन जाफरले विकेट किपर मुभबाट कुशललाई स्टम्पिङ गराए । त्यसअघि कुशलले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन बनाएका थिए । कुशलको एकदिवसीय ४७ खेलमा बनाएको यो सातौँ अर्धशतक हो ।
यसअघि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाएर आउट भए । चौथो नम्बर क्रिजमा आएका भिम सार्की २६ बलमा २ चौका सहित १७ रन बनाएर आउट भए ।
मध्यक्रमका कुशल मल्लले ३२ बलमा २० रन, आरिफ शेखले ५० बलमा चार चौकासहित ३८, पवन सरार्फले १५ रन बनाए । अन्तिमतिर इनिङ सम्हालेका सोमपाल कामीले २७ रन बनाए । क्यानडाका साद विन दुई विकेट लिएका थिए । इश्वरजोत सोही, साहिद अहमानजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।