सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित
एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ। यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।
नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्यो।
अन्तिम ओभरमा जितका लागि मलेसियलाई ११ रन चाहिएको थियो। जसमा मलेसियाकी एलिसा हन्टरले नेपालकी कविता कुँवरलाई २ चौकासहित पाँच बलमै ११ रन जोडिन्। उनले नटआउट ६९ रन जोड्ने क्रममा ५३ बलमा ६ चौका प्रहार गरिन्।
बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन्।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।
नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्।
बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन्। खेलमा जित निकाले सँगै मलेसियाले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने एसिया कपमा समेत छनोट भएको छ।