पहिलो जीतको खोजीमा रहेका अस्ट्रेलिया र श्रीलंका आज भिड्दै
एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ ।
यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए ।
उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । रिपोर्टका अनुसार शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।
यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।
कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।