फर्केर हेर्दा विश्वकप क्रिकेट
क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । पहिलो चरणमा हरेक राष्ट्रले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र उक्त चरणको शीर्ष चार राष्ट्र सेमिफाइनल प्रस्थान गर्नेछन् ।
अर्को हप्ताको बिहीबारबाट सुरु हुने विश्वकपको उद्घाटन खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । उक्त खेलमा विश्वकपका दाबेदार मानिएका दुई ठूला टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड आमने- सामने हुनेछन् । यी दुई टोली नै २०१९ को विश्वकप फाइनलमा पनि भिडेका थिए जसमा आयोजक राष्ट्र इंग्ल्याण्ड बाउण्ड्री काउन्टको आधारमा विजेता बनेको थियो ।
निकै नै उच्च लयमा देखिएको इंग्ल्याण्ड न्यूजिल्याण्डको लागि ठूलै चुनौती बन्ने पक्का छ । तर, ठूला टुर्नामेन्टहरुमा आफ्नो औकातबाट पनि धेरै माथि उठेर खेल प्रदर्शन गर्ने न्यूजिल्याण्डलाई पनि सामान्य भने लिन मिल्दैन । त्यसैले, यी दुई हेबिवेटबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । एक लाख बत्तीस हजार दर्शक क्षमता रहेको नरेन्द्र मोदी स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसोको २:३० बजे सुरु हुनेछ ।
भारतमा हुन लागेको विश्वकपमा आयोजक राष्ट्र भारतसहित पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया, पूर्व विजेता इंग्ल्याण्ड र एसियाको पावर हाउस मानिने पाकिस्तान उपाधिको प्रमुख दाबेदारको रुपमा रहेका छन् । राम्रो लयमा रहेको दक्षिण अफ्रिका र न्यूजिल्याण्ड पनि विश्वकपको दावेदार टोलीमै पर्छन् ।
घरेलु मैदान र उच्च लएमा भएका कारण भारतको सम्भावना बलियो रहेको क्रिकेट पण्डितहरु बताउँछन् । तर, विश्वकप कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने राम्रो ज्ञान भएको अस्ट्रेलिया र पछिल्लो समय एकदिवसीय क्रिकेटको स्वरुप नै बदल्देको इंग्ल्याण्ड भने भारतको लागि ठूलो पर्खाल बन्न सक्छन् ।