अभियन्ता ई:ले भने, ‘मेयर बालेन वार्ता गर्न आउनुभएको छैन’
अभियन्ता ई:ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दाबी गरेअनुसार राष्ट्रिय सभागृहमा संवादका लागि नआएको बताएका छन् । मेयर शाहले अभियन्ताहरू वार्तामा आउन नचाहेको बताएपछि ई:ले त्यसको जवाफ दिएका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई चुनावी बाचा सम्झाउन ई: सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका छन् । अकस्मात् एक नगर प्रहरीले आफूहरूलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको उनको भनाइ छ । ‘मेयर यहाँ आउनुभएको होइन । सँगै जबाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए ।’
अभियन्ता ईः महानगरले वार्ता गर्न चाहेको भए आफूहरू तयार रहेको बताए । वार्ताका लागि कानुन विज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय मागेको ई:ले बताए । नगर प्रहरीले बोलाएकै बेला नजान सम्भव नहुँदा रिसाएर ‘त्यसो भए मेयरले भेट्दैनन्’ भन्ने जवाफ दिएको उनले बताए ।