असार, साउनमा फिल्मको खडेरी, भदौमा भने ताँती
फिल्म रिलिजका लागि सधैँ तँछाडमछाड हुने नेपाली फिल्म बजार असार र साउनमा भने सुनसान जस्तै रह्यो । सुनसान यस अर्थमा कि ९ शुक्रबार रहेको असार र साउनमा जम्माजम्मी ५ फिल्ममात्रै रिलिज भए ।
यी फिल्म हुन् ‘अन्तिम संस्कार’, ‘परस्त्री’, ‘बगान’, ‘लुङा’ र ‘अदृश्य’ । असारमा तीन सातमात्र फिल्म रिलिज भयो भने साउनमा दुई साता मात्र । अगामी शुक्रबार अर्थात् २६ साउनमा कुनै फिल्म छैन ।
असारको पहिलो शुक्रबार अर्थात् १ गते कुनै फिल्म प्रदर्शनमा आएन । दोस्रो शुक्रबार ८ असारमा एकमात्र फिल्म ‘अन्तिम संस्कार’ रिलिज भयो । प्रदीप शाही निर्देशित मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य लगायतको अभिनय छ ।
असारको तेस्रो शुक्रबार १५ असारमा ‘परस्त्री’ प्रदर्शनमा आयो । हिन्दीमा डबसहित नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको यो फिल्म सुरज पाण्डेले निर्देशन गरेका थिए । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ ।
असारको चौथो शुक्रबार २२ गते कुनै फिल्म रिलिज भएन । अन्तिम शुक्रबार २९ असारमा भने ‘बगान’ रिलिज भयो । अभिनेता सरोज खनाल निर्देशित एकल महिलाको कथामा निर्माण भएको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतको अभिनय छ ।
त्यस्तै, साउनको पहिलो शुक्रबार अर्थात् ५ गते एकमात्र फिल्म ‘लुङा’ रिलिज भयो । लिम्बू संस्कृति विषयवस्तुमा निर्माण भएको किरण राई निर्देशित फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजङ्ग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल लगायतको अभिनय छ ।
दोस्रो शुक्रबार १२ साउनमा कुनै फिल्म रिलिज भएन । १९ साउनमा भने फिल्म ‘अदृश्य’ रिलिज भयो । प्रह्लाद काफ्लेको निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरि, रिश्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी लगायतको अभिनय छ ।
सधै दुई वा सो भन्दा बढी फिल्म जुध्ने नेपाली फिल्म उद्योगमा असार र साउनमा रिलिजका लागि फिल्मको खडेरी देखियो ।