यस्तो छ एसियन गेम्सको ७२ वर्षे इतिहास
एसियाको खेलकुम्भ अर्थात एसियन गेम्स (एसियाड) को इतिहास सात दशक भन्दा लामो छ । आफ्नो छुट्टै खेलकुद महोत्सव गर्ने लक्ष्यसहित सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो एसियन गेम्स भएको थियो ।
एसियाडको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सहरमा हुँदैछ । दुई सातासम्म चल्ने खेल मेलामा एसियाका ४५ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४० खेलको विभिन्न ४८१ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
२०२२ मै तय भएको एसियन गेम्स कोभिड-१९ को कारण स्थगित भएको थियो र एक वर्षपछि आयोजना हुन लागेको हो ।
तेस्रो पटक चीनमा एसियन गेम्स आयोजना हुन लागेको हो । यसअघि सन् १९९० मा चीनको बेइजिङ र २०१० मा चीनको ग्वाङ्झाउमा एसियन गेम्स भएको थियो ।
थाइल्याण्ड र दक्षिण कोरियापछि चीन तेस्रो पटक एसियन गेम्स गर्ने तेस्रो राष्ट्र बन्नेछ । थाइल्याण्डले सर्वाधिक ४ पटक आयोजना गर्दा दक्षिण कोरियाले ३ पटक आयोजना गरेको छ ।
७२ वर्ष लामो एसियन गेम्सको इतिहासमा दुई देश चीन र जापानले धेरै पदक जितेका थिए । सुरुमा जापान हाबी हुँदा पछिल्लो समय भने चीन हाबी बनेको छ । जापान पहिलोदेखि आठौं संस्करणसम्म शीर्ष स्थानमा थियो । नवौंदेखि १८औंसम्म भने चीन पदक तालिकामा शीर्ष स्थानमा रह्यो ।
अल टाइम मेडल टेबलमा चीनले अहिलेसम्म एक हजार ४७३ स्वर्ण, ९९४ रजत र ७२० कांस्यसहित तीन हजार १८७ पदक जितेको छ । यस्तै जापानले एक हजार ३२ स्वर्ण, एक हजार ३७ रजत र ९८५ कांस्यसहित तीन हजार ५५ पदक जितेको छ ।
त्यसपछि तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७४५ स्वर्ण, ६६३ रजत र ८२७ कांस्यसहित दुई हजार २३५ पदक जितेको छ । त्यसपछि धेरै पदक जित्नेमा इरान, भारत, काजखस्तान, थाइल्याण्ड, उत्तर कोरिया, चाइनिज ताइपेई र इन्डोनेसिया छन् ।