एसियाड खेल्ने सहोदर दाजु–बहिनी भन्छन्, ‘कराते हाम्रा लागि नशा हो’
राष्ट्रको जर्सी लगाएर ओलम्पिक, एसियाली खेलकुदजस्ता ठूला प्रतियोगिता खेल्नु कुनै पनि खेलाडीको सपना हुन्छ । यसका लागि खेलाडीले वर्षौ खेल मैदानमा पसिना बगाएका हुन्छन्, निरन्तर कडा परिश्रम गर्छन् ।
रंगशालाको सानो घेरालाई नै आफ्नो संसार बनाएर घाम–पानी केही नभनी निरन्तर अभ्यास गर्छन् । कुशल प्रशिक्षकहरुबाट प्रशिक्षण लिन्छन् । खेल्ने सपना पूरा गर्नकै लागि खेलाडीले अन्य क्षेत्रमा लागेर सहजै प्राप्त गर्न सकिने थुप्रै अवसर पनि त्यागेका हुन्छन् ।
तर, निरन्तरको त्याग र तयारीका बावजुद निकै कम खेलाडीले मात्र आफ्नो त्यो सपना पूरा गर्ने अवसर पाउँछन् । थुप्रै उत्कृष्ट खेलाडीबाट छानिएर आउने सर्वोत्कृष्ट खेलाडीले मात्र राष्ट्रको जर्सी लगाएर ओलम्पिक र एसियाडजस्ता महत्वपूर्ण प्रतियोगिता खेल्न पाउँछन् ।
यस अर्थमा कराते खेलाडी सन्तोष श्रेष्ठ र सविना श्रेष्ठ निकै भाग्यमानी ठहरिएका छन् । खासमा सन्तोष र सविना दाजु–बहिनी हुन् । एकै परिवारका यी दाजु–बहिनीले यसै वर्ष चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्दैछन् ।
उनीहरुको खेल पनि एउटै हो, कराते । विभिन्न चरणमा आयोजना भएका छनोट प्रतियोगितामा दिग्गज प्रतिद्वन्द्वीहरुलाई पाखा लगाउँदै यी दाजु–बहिनीले एसियाली खेलकुदमा स्थान पक्का गरेका हुन् । पक्कै पनि उनीहरुका लागि यो यात्रा सहज थिएन ।
यसका लागि उनीहरुले आफ्नो जीवनका महत्वपूर्ण क्षण कराते खेललाई सुम्पिएका छन् ।