कीर्तिमानको खाताभित्र लुकेको महान फुटबलर ‘मार्टा’को अथाह पीडा
महिला विश्वकप फुटबलको इतिहास खासै लामो छैन । विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा आएर आयोजना गरेको थियो । हाल नवौं संस्करण सञ्चालन भइरहेको छ, महिला विश्वकपको ।
महिला विश्वकपको इतिहासमा हालसम्म सातवटा राष्ट्रले मात्र सबै संस्करणमा सहभागिता जनाएका छन् । अमेरिका, जर्मनी, नर्वे, स्विडेन, ब्राजिल, जापान र नाइजेरियाले मात्र हालसम्म सबै संस्करणमा भाग लिएका छन् ।
पुरुष विश्वकपमा इतिहास रच्ने राष्ट्र हो, ब्राजिल । ब्राजिलले हालसम्म सर्वाधिक पाँच पटक पुरुष विश्वकपको उपाधि चुमिसकेको छ । तर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि ब्राजिलले हालसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन ।
सन् २००७ मा भएको महिला विश्वकपको पाँचौं संस्करणमा ब्राजिल उपविजेता बनेको थियो । त्यतिबेला जर्मनीले फाइनलमा ब्राजिललाई २-० गोलले हराएको थियो । हालसम्म महिला विश्वकपमा ब्राजिलको उत्कृष्ट प्रदर्शन भनेकै त्यही हो ।
त्यसअघि सन् १९९९ मा सम्पन्न तेस्रो संस्करणमा ब्राजिलले तेस्रो स्थान हासिल गरेको थियो । त्यतिबेला तेस्रो स्थानका लागि खेलाइएको खेलमा ब्राजिलले नर्वेलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पाखा लगाएको थियो ।
यसपटक अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको नवौं संस्करणमा भने ब्राजिलियन टोली उपाधिप्रति बढी नै विश्वस्त देखिएको थियो । त्यसको पछाडि दुईवटा कारण थिए । पहिलो कारण ब्राजिलको महिला टोली बलियो र सन्तुलित थियो ।
अनि, दोस्रो र सबैभन्दा महत्वपूर्ण कारण भनेको ब्राजिलियन महिला फुटबलमा गौरवशाली इतिहास बोकेकी खेलाडी मार्टा भिएरा डा सिल्भा अर्थात ‘मार्टा’ थिइन् । ऐतिहासिक खेलाडी मार्टाका लागि यो अन्तिम विश्वकप थियो । त्यसैले, पनि ब्राजिल यसपटक कुनै पनि हालतमा उपाधि चुम्ने महत्वाकांक्षी लक्ष्य बोकेर विश्वकप यात्रामा होमिएको थियो ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वकालीन महान खेलाडीको सूचीमा पर्छिन्, मार्टा । मार्टाका लागि विश्वकपमा भने यो छैटौं सहभागिता थियो । उमेरले ३७ पुगिसकेकी मार्टाले प्रतियोगिता सुरु हुनुअघि नै यो आफ्नो अन्तिम विश्वकप भएको संकेत पनि गरेकी थिइन् ।
त्यसैले पनि सिंगो ब्राजिलियन फुटबल र महिला टोलीका खेलाडीहरु विश्वकपको उपाधि जितेर आफ्नी आदर्श खेलाडी मार्टालाई गतिलो उपहार सुम्पन चाहन्थे । तर, यसपटक पनि मार्टालाई भाग्यले नराम्ररी ठग्यो । यो विश्वकप पनि मार्टाका लागि एउटा दुःखद सपना बन्न पुग्यो ।
यो विश्वकपमा ब्राजिल समूह ‘एफ’ मा परेको थियो । उक्त समूहमा फ्रान्स, जमैका र पानामा थिए । समूहगत चरणमा ब्राजिलको सुरुआत पनि गतिलै थियो । ब्राजिलले आफ्नो पहिलो खेलमा पानामालाई ४-० गोलको फराकिलो अन्तरले हराएको थियो ।
तर, समूहगत चरणको दोस्रो खेलमा ब्राजिल अप्रत्यासित रुपमा फ्रान्ससँग १-२ गोलले पराजित हुन पुग्यो । त्यसपछि पनि नकआउट चरणमा पुग्ने ब्राजिलको सम्भावना भने जिवितै थियो । तर, अन्तिम खेलमा जमैकालाई हराउनै पर्ने बाध्यता भने ब्राजिलमाथि थपिएको थियो ।
समूहगत चरणको अन्तिम खेलको अन्तिम सयमसम्म नै ब्राजिलले बलियो प्रतिद्वन्द्वी जमैकालाई हराउने प्रयास पनि ग¥यो । तर, आफ्नो लक्ष्यमा सफल भने हुन सकेन । अन्ततः ब्राजिल आफ्नो अन्तिम खेलमा क्यारेबियन प्रतिद्वन्द्वीसँग गोलरहित बराबरीमा रोकियो र उपाधि होडबाट पनि बाहिरियो ।
उक्त समूहबाट सात अंकसहित फ्रान्स र पाँच अंकसहित जमैका नकआउट चरणमा पुगे । चार अंक बटुलेको ब्राजिल र खाता खोल्न नसकेको पानामा अहिले भारी मन लिएर घर फर्कने तयारीमा जुटेका छन् । यो अप्रत्यासित नतिजाले सबैभन्दा ठूलो पीडा भने मार्टालाई नै दियो ।
लगातार ६ पटक विश्वकप खेलेर पनि उपाधि चुम्ने उनको सपना अधुरै रह्यो । ब्राजिलियन फुटबलमा मार्टाको विरासत धान्दै भविष्यमा नयाँ पुस्ताले देशका लागि विश्वकप जित्लान् । तर, त्यतिबेला मार्टा खेलाडीको भूमिकामा भने मैदानमा सक्रिय हुने छैनिन् ।
सायद त्यसैले आफ्नो टोली नवौं महिला विश्वकपको समूहगत चरणबाटै बाहिरिएपछि मार्टा निकै भावुक देखिएकी थिइन् । ‘मेरो देश र म आफ्नै लागि पनि यो अत्यन्तै दुःखद क्षण हो । सायद योभन्दा बढी म केही बोल्न सक्दिन होला,’ खेलपछि मार्टाले भनिन् । विश्वकपको असफलताले आफूलाई जीवनभर लखेट्ने पनि उनले बताइन् ।
‘फुटबल मैदानमा जतिसुकै इतिहास रचे पनि एउटा खेलाडीको रुपमा यो (आफ्नो देशलाई विश्वकपको उपाधि चुमाउन नसक्नु) असफलताले सायद मलाई जीवनभर लखेट्ने छ,’ यति भनिरहँदा उनको आँखा आँसुले भरिएको थियो, ‘मार्टाको जीवनको एउटा अध्याय यहीं सकिन्छ । अब विश्वकपको मैदानमा मार्टा फेरि देखिनै छैन ।’