विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड, रंगेली नगरप्रमुखको ‘सेटिङ’
मोरङको रंगेली नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड दिने गरेको खुलेको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङले गत असार २० गते गरेको अनुगमनका क्रममा रंगेली–६ मा रहेको पब्लिक माध्यमिक विद्यालयले जङ्क फुड खुवाउने गरेको खुलेको हो ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका सूचना अधिकारी शिवप्रसाद घिमिरेका अनुसार विद्यालयमा दालमोठमा चिउरा र भुजिया मिसाएको एउटा प्याकेट र अर्को चिजबलजस्तो प्याकेट खाजामा प्रयोग गरेको भेटिएको हो । त्यस्तो खाजाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै आफूहरुले विद्यालयलाई सचेत गराएको उनले बताए ।
विद्यालय अनुगमनका क्रममा समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतम, सब इन्जिनियर देवी प्रसाद चुँडालको सहभागिता थियो । अनुगमनपछि उक्त टोली र विद्यालयका प्रधानाध्यापक विरेन्द्रकुमार साहको संयुक्त बैठकले आगामी दिनमा खाजामा प्याकेट नराख्न र विद्यालय हाताभित्रै खाजा तयार गरी विद्यार्थीलाई उपलब्ध गराउन दिर्नेशन दिएको छ ।
‘दिवा खाजा कार्यक्रम विभिन्न प्याकेट बन्द सामाग्री प्रयोग भएको पाइयो । विद्यार्थी स्वास्थ्यलाई मुख्य मानी तयारी त्यस्ता सामग्री प्रयोग नगर्ने र स्थानीय स्तरमा प्राप्त हुने उत्पादनलाई प्राथमिकता दिई दैनिक अलगअलग मेनु तयार गरी विद्यालय हाताभित्रै तयारी गराइ खाजाको प्रबन्ध गर्न विद्यालयको सबै सरोकारवालाको ध्यानाकर्षण गर्दछौं । विद्यालयलाई अविलम्ब सो व्यवस्थापन गर्न निर्देशन दिइएको छ,’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।
विद्यालयका प्रधानाध्यापक यादवले आफूहरुले यसअघि नै खरिद गरिसकेका कारण उक्त प्याकेटहरु नसकिएसम्म त्यही प्रयोग गर्ने बताए । ‘हामीले खाजामा प्याकेट किनिसकेका छौं, त्यो सकिएपछि अर्को खरिद गर्छौंं,’ उनले भने । पब्लिक स्कुलमा ६ कक्षा मुनि अध्ययन गर्ने ४ सय विद्यार्थी छन् ।